जोगवनी किमाथाङका सडक २३ कि.मि मात्रै बाकि

सङ्खुवासभा ।  जोगवनी, विराटनगर, खाँदबारी, किमाथाङ्का सडक जोडिन अब २३ कि.मि मात्रै बाकि रहेको छ । जोगवनी किमाथाङ्का जम्मा ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोलिसकिएको र अब बाकि २३ किलोमिटर मात्रै रहेको छ । 
खाँदबारी किमाथांका सडकको लम्बाइ १ सय ६२ किमि छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिएको छ । त्यहाँसम्म १ सय ३९ किलोमिटर कच्ची सडक निर्माण भएको छ । उत्तर दक्षिण कोसी सडक योजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन लैजान सकिने जनायो । 
किमाथांका जोड्ने लक्षका साथ खनिएको सडकको काम तीव्र गतिमा भएको सदरमुकाम खाँदरबारीमा भएको एक कार्यक्रममा उत्तर दक्षिण कोशी सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए । उनका अनुसार हाल सम्मको २ अर्व ३९ करोड बजेट मध्ये २ अर्व ११ करोड भने खर्च भईसकेका छ । 
आयोजना प्रमुख ज्ञवालीका अनुसार खाँदबारी एकुवा–हटिया खण्डमा सडकको काम स्वच्छन्द, याक्थुम्हाङ र पुष्पाञ्जली जेभीले गरिरहेको छ । हटिया चेपुवा खण्डमा गजुरमुखी, मोतिदान, गिताञ्जली जेभी र कञ्चनजंघा, गजुरमुखी र मोतिदान जेभीले तीव्र गतिमा टयाक खोल्ने काम गरेका छन् ।
सिम्बुङ हटिया खण्डको टयाक खोल्ने, बरुण सिम्बुङको रेखांकन विवाद, अलैंची तथा गुम्बामा देखिएको समस्या समाधान गरेर सडकको काम अघि बढाइएको उनले बताए । 
उनका अनुसार चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान र भीर भएकाले यो १५ किमि सडक विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्छ, उनले भने, ‘त्यसका लागि विस्फोटक पदार्थ खरिद गर्न प्रक्रिया अघि बढाइसकेका छौं ।’
सकेसम्म चाँडो किमाथांका सडक जोड्ने लक्ष्य हाम्रो हो, उनले भने, ‘यो १४ किमि विस्फोट भएपछि किमाथांका जोडिन्छ ।’ किमाथांका तर्फबाट पनि १४ किमि सडक निर्माण गरिसकिएको उनले बताए । बीचमा पर्ने संखे भिर र महाभिरमा मात्रै ट्रयाक खोल्न सके किमाथांका पुगिन्छ, उनले भने, ‘तीव्र गतिमा काम गरेर यहि वर्ष खाँदबारी किमाथांका जोड्ने प्रयत्नमा छौं ।’ भोटखोला गाउँपालिका ४ का स्थानिय मुटुक भोटे हटियासम्म सडक पुगेपछि खुसी छन् । सडकले खाँदबारी किमाथांका जोडिन लाग्यो, उनले भने, ‘अब भोटखोलावासीको दुःखका दिन गए, छिट्टै किमाथांका जोडिनेमा विश्वस्त छौं ।’
अहिले पनि बर्वाातको समयमा सदरमुकाम पुग्न ५ दिन हिँड्नु परिरहेको बताउँदै उनले भने, ‘यो २३ किमि सडक निर्माण भए वर्ष भरि नै सहज ढंगले गाडी चढ्न पाइन्छ ।’ 
भोटखोला गाउँपालिका ३ का वडाध्यक्ष आन्दी भोटेका अनुसार निर्माण व्यवसायीले खच्चडमा तेल, ग्याबिन र निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणमा तीव्रता दिइरहेको उनले बताए । यसरी बोकिएको सामग्री प्रयोग गरेर हुङगुङ, चेपुवा जोडिँदै छ, उनले भने, ‘अब एक साता लगाएर सदरमुकाम जाने दिन गए ।’ यहीँ गतिमा सडक निर्माण भए केही महिनामा यो खण्ड पनि जोडिनेछ ।
प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले किमाथांका जोडिन केही किलोमिटरमात्र बाँकी रहेकाले यहि वर्षभित्रमा किमाथाङका गाडिमा जान सकिने बताए । उनले विस्फोटक पदार्थ खरिद गरेर भीर फुटाउने प्रकृयाको लागि नेपाली सेनासंग कुरा भएको र करिब अन्त्यमा पुगेको बताए । यहि आथिृक वर्ष भित्र खाँदबारी किमाथांकामा गाडी गुडाउने योजना लिएर अघि बढेको छु, उनले भने, ‘बजेटको व्यवस्था गरेर सडक जोड्छु । यो खण्डमा तीव्र गतिमा काम भइरहेको उनले बताए ।’ खाँदबारी किमाथाङ्का सकड खण्डको ८० किलोमिटर सम्ममा हाल यातायात सञ्चालन भईरहेको छ । 
 

प्रतिकृया दिनुहोस