अमेरिकी करवृद्धिको जवाफ दिन तयार छौँ : चीन

बेइजिङ । अमेरिकाले चीनका सामानमा थप दुई अर्ब डलर बराबरको कर वृद्धि गर्ने निर्णय सार्वजनिक भएपछि बेइजिङले यसको पनि उचित जवाफ दिने त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । 

यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार चाहनालाई प्रत्याभूत गर्नेछ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा भने । 

विश्वका यी दुई शक्ति राष्ट्रबीच केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ । जसका कारण दुवै मुलुकका ग्राहक मारमा परेका छन् । अमेरिकी ट्रम्प प्रशासनले यसअघिदेखि नै चीनबाट आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो । 

हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई गत हप्ता स्वागत गरेको थियो । यसबारे दुई पक्षबीच छलफल चलिरहेको थियो, जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र व्यापार युद्धबाट फिर्ता हुने आशा बढेको थियो । 

गत साताको अन्तमा अमेरिकी ‘वाल स्ट्रिट जर्नल’ले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी अमेरिकाले चीनबाट आयात हुने सामानमा २०० अर्ब अमेरिकी डलर बराबरको कर लगाउन लागिएको जनाएको थियो । उक्त कदमले वार्तालाई रद्द गर्ने निर्णय लिन बाध्य पार्ने चिनियाँ अधिकारीले बताएका छन् । 

अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ । अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा सोमबार नै एक प्रतिशतले गिरावट देखिएको छ । साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक निम्न विन्दुमा झरी २६५१.७९ पुगेको छ । 

अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताए । हामीले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने बताउँदै आएका छौँ, प्रवक्ता गेङले थपे । 

तर यसको प्रतिक्रियास्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको चेतावनी दिएका छन् । बेइजिङले अमेरिकाबाट चीनमा आयात गर्ने छाला, कोका क्रिम र कन्डोमलगायतका सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने लक्ष्य लिएको छ । 
 

प्रतिकृया दिनुहोस