फुटबल क्रेजी डाक्टरः जो सेतो गञ्जी रंग्याएर मनपर्ने टिमको जर्सी बनाउँथे

चिकित्सा शास्त्र अध्ययन संस्था, शिक्षण अस्पतालमा कार्यरत डा रमेश भण्डारीलाई यतिबेला दोहोरो चटारो छ । कलेजो प्रत्यारोपण विज्ञ डा भण्डारी केही महिनाभित्रै शिक्षण अस्पतालबाट कलेजो प्रत्यारोपण सेवा थाल्दैछन् । त्यसका लागि उनको दौडधुप छँदैछ । यही बेला उनको जीवनको प्रिय खेल फुटबलको कुम्भमेला चलिरहेको छ । रसियामा जारी विश्वकप फुटबल नहेरी त उनको मन चैनमै हुँदैन । 

कामको समय मिलाएका छन् । थप मेहनत गरिरहेका छन् र हेरिरहेका छन् फुटबल पनि । एक हिसाबले उनलाई फुटबल क्रेजी डाक्टर भन्न पनि मिल्छ । किनभने डाक्टर बन्ने क्रममा र डाक्टर भएपछिका व्यस्तताले उनको जीवनबाट धेरथोक अलग्गिए । तर यही एउटा फुटबल हो, जसलाई उनले अहिलेसम्म अलग्गिन दिएका छैनन् । ठूलो मैदानमा उनले खेल्ने फुटबल अहिले खुम्चिएर फुटसलमा चाहिँ पुगेका छ तर टुटेको छैन । 

बैतडीमा जन्मिएका डा भण्डारी बाल्यकाल भने काठमाडौंको  कुपन्डोलमा बित्यो । कुपोन्डोलमा त्यो समय धेरैतिर खाली चौर थिए । चौरमा कसैले फुटबल उफार्न हुन्थेन,  भण्डारी सवथोक छाडेर पुगिहाल्थे । नचिनेकाहरुसँग चिनजान गर्थे र फुटबल दौडाउन थाल्थे । फुटबलमा उनको लगाव मात्रै होइन, खेलकौशल पनि राम्रै थियो । त्यसैले पहिलो दिन अपचितहरुले उनलाई टिममा सहभागी गराउँथे र दोस्रो दिन राम्रो खेल्ने मान्छे भनेर खोज्दै घरसम्म आइपुग्थे । उनी भन्छन्, ‘फुटबलकै कारण सानैदेखि मेरा धेरै साथीहरु थिए।’

000

स्कुल लेभल सकाउन्जेलसम्म निरन्तर फुटबल खेलिरहे । तर, त्यता अहिलेको जस्तो आकर्षक करियर थिएन । व्यवसायिक रुपमा सिक्ने ठाउँ पनि मेलोमेसो पाएनन् । ।  सानो बेला उनीसँगै खेल्न कति साथीहरुले भने फुटबलमै करियर बनाएका छन् । कति कोच छन्, भने कति राष्ट्रिय खेलाडिसम्म भएका छन् ।  

स्कुल, कलेज र एमबिबिएस पढुन्जेलसम्म पनि उनले पढाइपछि रोजे फुटबल । फुटबलमा जितेर हात पारेका थुप्रै मेडल उनीसँग छन् अहिले पनि । भन्छन्, ‘कहीँ फुटबल  खेलेको देखेपछि अहिले पनि आफूलाई रोक्न सक्दिनँ ।’

चाहे असारसाउनको झरी होस् वा चाहे वैशाखको गर्मी । फुटबल भनेपछि सवथोक बिर्सिएका प्रशस्त घटना छन् उनीसँग । सानो बेला जाडोयामामा बागमती किनारको बालुवामाथि साथीहरुसँग फुटबल खेलेका स्मृतिहरु उनको मानसपटलमा अहिले पनि नाँच्छन् ।   उनले सम्झिए, ‘जाडोयाममा बागमतिमा एकदम थोरै पानी हुन्थ्यो । नदी पूरै हाम्रा लागि मैदान थियो । बालुवामा दिनभरि फुटबल खेलिन्थ्यो ।’

 

भिएस निकेतन स्कुलमा पढेका उनले थुप्रै स्कुलस्तरीय प्रतियोगिता जितेका छन् । पढाइ कमजोर हुने डरले स्कुल बाहिरका प्रतियोगितामा भने उनी त्यति गएनन् । कुपोन्डलका उनकै साथीहरु मिलेर एउटा क्लब भने बनाएका थिए । जर्सी प्राप्त नहुने त्यो समय उनीहरु आफ्नै टिसर्टका पछाडि क्लबको नाम र आफ्नो नम्बर लेख्थे । 

सानैछँदाको विश्वकप उनी सम्झिन्छन्,  ‘म त्यस्तै चार–पाँचमा कक्षामा पढ्थें । विश्वकप भइरहेको थियो । अहिलेको जस्तो जर्सी जताततै पाइन्नथ्यो । हामीले आइडिया लगायौं आफ्नो मन पर्ने टिमको जर्सीको कलर सेता गञ्जीमा लगायौं ।’ 

एसएलसीमा फुटबलल र पढाइ सँगसँगै जस्तो थियो उनको तर प्लस टूपछि फुटबल उनीबाट अलिकति अलग्गिन पुग्यो । होस्टेलमा बसेर भरमार पढ्नुप¥यो उनले । फुटबलको तीर्खा उनले फुर्सदको समयमा खेलेर मेटे।

000

एबिबिएस पढ्दा फेरि फुटबल खेल्ने मौका मिल्न थाल्यो । सहपाठीबीच प्रतियोगिता हुन्थ्यो, राम्रो खेल्ने डा भण्डारी छुट्ने कुरा भएन । उनी सहभागी भएका प्रायः खेल जित्ने उनकै टिम हुन्थ्यो । टिमले जितेका मात्रै होइन, बेस्ट प्लेयरका ट्रफी पनि उनीसँगै थुप्रै छन् । जुन उनले सजाएर राखेका छन् । आफ्ना सन्तानहरुलाई देखाउँछन् । 

नेपालमा हुँदा मात्रै होइन, पढाइको सिलसिलामा अष्टे«लिया पुग्दा पनि उनले फुटबल खेलेका छन् । उनी भन्छन्, ‘त्यहाँ पुगेपछि खेल्ने साथीहरु भेटिहाले । त्यसपछि आफूलाई रोक्न सकिएन ।’
फुटबलप्रतिको प्रेम मैदानमा प्रदर्शन गर्न उनको व्यस्त पेशाले दिँदैन । त्यसैले फुर्सदको समय खेलप्रतिको तीर्खा मेट्न फुटसल पुग्छन् । फुटबलप्रेमी साथीभाईहरुको एउटा समूह बनाएका छन्, फ्याकल्टी फुटसल क्लब ।  शिक्षण अस्पतालमै कार्यरत फुटबलप्रेमी डाक्टर सदस्य छन् । ‘करियर बनाउँदा छुटेको फुटबल खेल्न सपना पूरा गर्न फ्याकल्टी  फुटसल क्लब  बनाएका हौं । बिदाको समय खेल्न जान्छौं । विश्वकपको समय त खेल्ने अझ धेरै हुन्छन्,’ उनले स्वास्थ्यखबरसँग भने ।

नेपालीमाझ फुटबल लोकप्रिय हुनुको कारण पहिल्याएका छन् उनले । भन्छन्, ‘यो खेल्न र हेर्न सजिलो खेल हो ।’

विश्वकप पहिलोपल्ट हेर्दा उनले सुनेको नाम अर्जेन्टेनी स्टार म्यारोडना हो । उनको खेलबाट प्रभावित भएर लामो समय उनी अर्जेन्टिनाका प्रशंसक बने । खेल राम्ररी बुझ्दै जाँदा उनी पोर्चुगलका समर्थक बने ।

 

उनलाई सन् १९८६ को विश्वकप अलि अलि सम्झना छ । राम्रोसँग सम्झेको सन् १९९० को भने उनलाई राम्ररी सम्झेका छन् । फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेका थिए । उनी अर्जेन्टिनाका समर्थक थिए । तर, विश्वकप जर्मनले उचाल्यो । उनी खिन्न भए । उनी भन्छन्, ‘अर्जेन्टिनाले खेल राम्रै खेलेको थियो । तर, जर्मनले १–०ले जित्यो ।’

विश्वकप बाहेक उनी युरोकप, कोपा अमेरिका लगायतका खेल नछुटाई हेर्छन् । राम्रो खेल्न खेलाडि र टिमलाई समर्थन गर्छन् । अहिले उनी पोर्चुगलका फ्यान छन् । त्यसैले फुटबल खेल्दा पनि पोर्चुगलकै जर्सी लगाएर खेल्छन् ।  

उनलाई साथीभाईमाझ बसेर खेल हेर्न रुचीकर लाग्छ । फुर्सद भएसम्म त्यस्तो मेसो पनि मिलाउँछन् । 

प्रतिकृया दिनुहोस