हेडसरलाई चिठी (कविता)

सर, 
मैले विद्यालयबाटै सिकेको हुँ
सर, मिस भनेको हाम्रा सर मिस मात्र हैनन् 
असल अभिभावक पनि हुन रे !
झन् तपाइँ त सरहरुभन्दा पनि ठूलो हेड सर 
अनि तपाइँले नबुझे मलाई कस्ले बुझ्छ  ?

सुनेको छु 
तपाइँले मजस्ता कयौँ यात्रीलाई
एउटा कुशल माझिलेझैं
अशिक्षाको भेल तारेर कहाँकहा पुर्‍याउनु भयो रे !
म जन्मिनुभन्दा केही वर्ष अघिदेखी हाम्रै स्कुलको 
पाटिमा चक र डस्टर घोटिरहनु भएको छ रे !
आज म छ कक्षामा पढ्न थालेकी छु ....!
हजुरबा कहिलेकाहिँ भन्नुहुन्छ
तपाइँले त्यो पाटिमा लेखेका धुमिल अक्षरहरु पढेर कति त देशको उच्च ओहोदामै पुगिसके रे !

सर तपाईं महान् हुनुन्छ,
मलाई विश्वास छ, पक्कै मलाई बुझ्नुहुन्छ !

तपाइँले कान उखेली उखेली सिकाउनु भएका
र मैले मनभरी अनेकौँ कुण्ठा पालेर
मुस्किलले सिकेका ती धुमिल अक्षरहरु 
आज मलाई काम लाग्ने भएका छन  ! 

मेरो आदरणीय हेड सर,
आज म तपाईँलाई एउटा चिठिबाट 
बाङ्गाटिङ्गा अक्षरहरुमा बाङ्गै डिको दिएर
मनका वह र बाध्यताहरु पोख्ने जमर्को गर्दैछु !
कृपया मिलाएर बुझ्नुहोला मेरो भाषा !

श्रीमान्  आदरणीय हेड सर
श्री जामुनखर्क मा.वि.
बे.न.पा. ७,  म्याग्दी ।

विषय : मलाई स्कुलबाट रेस्टिगेट गराइदिनु !

महोदय,

सर ,
म अब विद्यालयमा उपस्थित हुन सक्दिन
किनकी मसँग कपिकलम किन्ने पैसो छैन !

कहिलेकाहिँ कपि नहुँदा
मलाई पढाउने मेरो सर भन्नुहुन्थ्यो
" पूजा भोलिदेखी कपि ल्याउने नत्र स्कुल न आउने... ..." 
कहिलेकाहिँ हातमा कलम नदेख्दा
मलाई मन पर्ने मिस नै भन्नुहुन्थ्यो
" पूजा , तिमी कस्ति विद्यार्थी हँ ?
स्कुल आउँदा कलमै नबोकी आउने ?
भोलिदेखी कलम लिएर आउनु नत्र स्कुलबाट निकाल्दिन्छु ........"

सत्य कुरा म कसरी भन्न सक्थेँ र सर
यदि मैले सत्य कुरा सर मिसलाई भनेको 
मेरा बाउले थाह पाए भने
मलाई मार्छन् भन्ने पिर हुन्थ्यो ....!

अनि सर मिसको सामु केही बोल्दिन थेँ
चुपचाप बस्थेँ
सर मिसले पनि सधैँ कापी कलम किन नल्याको मात्र भन्नुहुन्थ्यो
तर कहिल्यै नल्याउनुको कारण सोध्नु  नै भएन ।

हो ,आज त्यहि कारण खुलाउन यो चिठी लेखेकी हुँ !

सर , 
अहिले घरमा हजुरबुबा, म र भाइ बहिनी छौँ
धेरै भयो आमाले छोडेरै जानुभको नि 
बाग्लुङ हुनुन्छ भन्ने चाहिँ सुन्या  छम्...
बुबा बेनी बजार छेउकै फर्निचरमा काम गर्नुहुन्छ रे
एक दुई महिनामा कहिलेकाहिँ घर आउनुहुन्छ 
आउँदा कहिल्यै एक्लै आउनुहुन्न
रक्सिको दुर्घन्ध साथै ल्याउनुहुन्छ !

कापी कलम चाहियो भन्दा
"अब एत्री भएर नि बाउसंग पैसा माग्छेस् "भन्नुहुन्छ
गाली गर्नुहुन्छ, पिट्नुहुन्छ ......
घरमा के खान्छन्, के गर्छन् केही वास्ता गर्नुहुन्न
उहाँलाई रक्सी भए अरु केही चाहिन्न सर !

हाम्रोमा आम्दानिको स्रोत भन्नू नै 
हजुरबुबाको बृद्धभत्ता मात्र हो !
त्यसैले अलिजेल खान्छौ अनि त भोकभोकै...!
मेरो मुखमा हेर्दै 
भाइ बहिनी भोकले रुन्छन्, जाडोले चिच्याउँछन् 
कापी छैन भन्छन्, कलम छैन भन्छन् ...! 
अब त हजुरबुबा नि बूढो हुनुभो सर 
कहिलेकाहिँ त सोच्छु , 
"भगवानले मलाई चाँडै ठूलो बनाइदेनी हुने नि !"

सर ,
तपाइँलाई थाहै छ
म स्कुल न आको धेरै भैसक्यो 
र अब आउन पनि सक्दिन होला ...!
घरमा खाने खर्च र कापी कलम किन्ने पैसा छैन
मलाई पढाउँछु भन्ने मेरो यो संसारमा कोहि छैन ..! 
बाध्यताले म स्कुल आउन नसक्ने भएकी छु 
स्कुलै न आएछी स्कुलमा नाम हुनुको के अर्थ र ?
सर मिल्छ भने 
मलाई स्कुलबाट रेस्टिगेट गर्दिनुस् न है !

मेरो जीवन त रातै नपरी अँध्यारो भैहाल्यो
तर मेरो गाँस काटेरै भए नि मैले
मेरा भाइबहिनिलाई पढाउनुपर्छ ,,
रहर हैन सर,
यो चिठी लेख्नु मेरो बाध्यता हो !
त्यसैले सरसँग विनम्रताकासाथ अनुरोध गर्छु 
"मिल्छ भने मलाई स्कुलबाट रेस्टिगेट गरिदिनुस् न है  !!!"

तपाईँकी आज्ञाकारी छात्रा  
पुजा खत्री
कक्षा ६ रोल नं १६  ।

© बि.एन ढकाल
अरुण गाउँपालिका-५, भोजपुर ।
हाल : काठमाडौँ ।

 

प्रतिकृया दिनुहोस