सार्वजनिक जग्गामा सहकारीको ब्रह्मलुट

इटहरी । जनतासँग सहकार्य गर्दै आर्थिक उपार्जनको बाटो पहिल्याउने उद्देश्यले सहकारी संस्थाको गठन भएको हुन्छ । सदस्यसँगको सहकार्य मार्फत् सङ्कलित पूँजीको उपयोग सहकारीको जिम्मेवारीभित्र पर्छ । तर इटहरीमा केही यस्ता सहकारी छन् जसले सार्वजनिक जग्गाको दुरुपयोग गरिरहेका छन् ।
इटहरी उपमहानगरपालिका गेट अगाडिको ४ तले भवन बहुउद्देश्यीय सहकारीले उपभोग गरिरहेको छ । सहकारीले आफैँ निर्माण गरेको सो भवनबाट मासिक १ लाख रुपैयाँ हाराहारीमा भाडा उठाउँछ । तर सो भवन भएको जग्गा भने ऐलानी अर्थात् सार्वजनिक हो । सरकारी जग्गामा भवन बनाएर सहकारीले भाडा उठाइरहेको छ । त्यतिमात्र होइन बीउ तथा कृषि उपकरणको गोदामको रूपमा पनि सो भवनको प्रयोग भइरहेको छ ।

सोही भवनको सटर भाडामा लिएका एक व्यापारीका अनुसार सहकारीले कोटेसनको आधारमा भाडा लगाएको हो । 
नगरपालिकाको कम्पाउण्ड वाल भत्काएर सो भवन बनेको थियो । यसरी सार्वजनिक जग्गा सहकारीले आफ्नो संस्थागत फाइदाको लागि प्रयोग गरिरहेको छ ।

सहकारी संस्थाका अध्यक्ष जयबहादुर कार्कीले दिएको जानकारीको आधारमा हाल सहकारीमा ९ सय ८० सेयर सदस्य छन् । इटहरीमा नाम चलेका व्यक्ति सेयर सदस्य भएकाले उक्त भवनको विरुद्धमा अहिलेसम्म दरो आवाज उठ्न सकेको छैन ।

त्यसैगरी, इटहरी–५ मा अवस्थित सिमरबना बचत तथा ऋण सहकारी संस्थाको पनि अवस्था त्यस्तै छ । उक्त सहकारीले पैनीको जग्गा मिचेर भवन बनाएको छ । भवन आफ्नो उपयोगको लागिमात्र होइन भाडामा समेत लगाउने गरी निर्माण गरिएको छ । ६ वटा सटर रहेको सो भवनमा एउटा सटर भाडामा लागिसकेको छ । जसबाट मासिक ६ हजार रुपैयाँ आम्दानी हुने गरेको सहकारीका अध्यक्ष भीष्म घिमिरेले बताए ।

घिमिरेका अनुसार सो भवन ८५ लाख रुपैयाँको लागतमा बनेको हो । बाँकी सटरको लागि पनि कोटेशन आह्वान भए पनि भाडामा नलागेको बताइएको छ । १ हजार ३ सय भन्दा बढी सेयर सदस्य र ३ करोड ७० लाख चालु पूँजी रहेको सो सहकारीले आफ्नो उपभोगको लागि सरकारी जग्गा उपयोग गरिरहेको छ ।

सार्वजनिक जग्गा खोजी अभियानमा डोजर लिएर हिँड्ने मेयरले आफ्नै कार्यालय अगाडिको सहकारीको भवन अझैसम्म देख्न सकेका छैनन् । इटहरीका मूर्धन्य व्यक्तिको चेपुवामा स्वयम् मेयर द्वारिकलाल चौधरी परिरहेका छन् । विभिन्न तर्क र बहानामा एक संस्थाले उपभोग गरिरहेको सरकारी जग्गाको विषयमा मेयर मौन छन् ।

सार्वजनिक जग्गा खोजीकार्यमा जुनसुकै तहको दबाबले पनि आफूलाई हल्लाउन नसक्ने बताउने मेयरले सहकारी संस्थाले मिचेर बनाएको भवन भने नदेख्नु आश्चर्यजनक भएको स्थानीय बताउँछन् ।

घरबहालकर पनि नबुझाउने यस्ता भवनले भाडामा लगाएर पैसा उठाउँदै गर्दा उपमहानगरपालिका प्रशासन मौन देखिन्छ । सार्वजनिक जग्गा हडप्ने भवन तथा संरचना भत्काउँदै हिँड्ने मेयरको डोजरले पनि उक्त भवन छुन सकेको छैन ।

 

                                                                                                                            साभार : प्रदेशपोर्टल डट कम

प्रतिकृया दिनुहोस