५० प्रतिशत छुटमा ज्येष्ठलाई यातायात सेवा

भोजपुर । सार्वजनिक यातायातमा यात्रा गर्दा ५० प्रतिशत छुटमा ज्येष्ठ नागरिक तथा अपाङ्गले गाडी चढ्न पाउने भएका छन् । 
आमचोक गाउँपालिका र यातायात तथा ढुवानी व्यवसायीबीचको छलफलले ज्येष्ठ नागरिक तथा अपाङ्गहरूलाई छुट दिने निर्णय भएको हो ।

सवारी चालकले अनिवार्य रूपमा चालक अनुमतिपत्र लाइसेन्स बोक्नुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने लगायतका सहमति भएका छन् । यस्तै, नियमविपरीत सवारी साधन चलाउनेलाई कार्वाही गरिने सहमति भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको २०७५/०७६ को नीति तथा कार्यक्रमअनुसार यो नियम लागू गर्न लागिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । उनले भने, ‘गाउँपालिकामा रहेका ज्येष्ठ नागरिक र अपाङ्गहरूलाई तत्काल परिचय–पत्रको व्यवस्था गर्ने योजना अघि सारेका छौँ । परिचयपत्र भएपछि अझ सहज हुनेछ ।’

गाउँपालिका र यातायात व्यवसायीबीच भएको सहमतिप्रति स्थानीय खुशी भएका छन् । आमचोक गाउँपालिकामा हाल १३ वटा ल्याण्डरोभर, एउटा बस र ९ वटा अटो टेम्पो सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस