तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

यसअवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा शुभकामना सन्देश ििदएका छन् । 

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन् ।

उनले मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको बताए ।

उनले विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नसकेको भन्दै अब आर्थिक विकास र समृद्धिको यात्रा सरकारले प्रारम्भ गरेको स्पष्ट पारेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेकाले यसलाई सफल बनाउन तमु समुदायले सरकारसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस