फुटबलमा उत्साह छ, रणनिती छैन

सङ्खुवासभा । जिल्लाको पांमामा भएको एक खेलमा तुम्लिङटार स्पोटिङ क्लव र पांमा सामुदायिक सेवा क्लव फाइनल खेल खेलिरहेका थिए । दुवैटिमलाई जित्नैपर्ने दवाव थियो । खेलको करिब सुरुवात तिरनै पांमाले गोल गरेपछि खेलमा झन रौनक थपिएको थियो ।
यता शुक्रबार भएको तुम्लिङटार स्पोटिङ क्लव र सङ्खुवासभा युनाइडेट क्लव विचको सेमिफाइनल खेल पनि कम रोचकको थिएन । दुवै टिमले जिल्ला बाहिरका खेलाडीहरु अनुबन्ध गरेका कारण दुवै टिमलाई चासोका साथ हेरीएको थियो । सुरुमा सङ्खुवासभा युनाइडेटले १ गोल गरेपछि तुम्लिङटारका प्रशिक्षकहरु टचलाइनमा नै पुगेर खेलाडीहरुलाई निर्देशन दिन थाले । म्यान टु म्यान चेक गर, हान्न दे, मान्छे छेक प्रशिक्षकहरु यस्तै भन्दै चिच्याउँदै थिए । 
फाइनलमा पनि पांमाले गोल हानिसकेपछि प्रशिक्षकहरु त परै जाउन खेलका दर्शकले समेत आफ्नो समर्थक टिमलाई यसो गर र उसो गर भन्दै मैदान बाहिरबाट नै सिकाउदै थिए । सिकाई भने माथिकै जस्तो, म्यान टु म्यान चेक गर, हान्न दे, मान्छे छेक यस्तै भन्दै दर्शकहरु चिच्याउँदै थिए । उनिहरु भन्दै थिए यसरी हानेको भए गोल हुन्थ्यो, उसरी हानेको भए गोल हुन्थ्यो । जिल्लामा हुन प्रायः खेलहरुमा यस्तै यस्तै हुने गरेको छ । 
पछिल्लो केही वर्षयता पहाडी क्षेत्रमा फुटबलको माहोल यति छ कि लगानी र प्रतियोगिताको हिसाबले अरु कुनै खेल धेरै पछाडि छ । फुटबल सुरुवातको इतिहास पनि लामै छ, जिल्लामा । २०३४ सालतिर पहिलोपटक मादीमुलखर्कमा फुटबलका प्रतियोगिताहरु आयोजना गरिएको जानकारहरु बताउछन् । यसरी हेर्दा जिल्लामा फुटबल भित्रिएको ४ दशक कटिसकेको देखिन्छ । तैपनि फुटबलमा माथि उल्लेख गरिएजस्तो शैली र प्रर्दशनहरु दोहोरिरहनु यहाँ अनौठौ मानिदैँन । 
यतिको अवधिमा फुटबलले ठुलै छलाङ मारिसक्नुपर्ने स्वयं यसमा आवद्धहरु बताउँछन् । तर आखिर किन त्यसो हुन सकेको छैन भन्नेबारे भने कसैको चासो गएको पाइदैन् । एन्फाका रेफ्री बिक्रम कार्की पहाडमा फुटबलको राम्रो माहोल भए पनि प्राविधिक पक्ष भने कमजोर रहेको बताउछन् । 
विभिन्न प्रतियोगिता सञ्चालन गर्न सङ्खुवासभा आइसकेका उनी खेलाडीमा कौशल र जोश भएपनि समग्र टिमको खेलमा रणनितिक अभाव रहेको औंल्याउछन् । “खेलमा आफ्नो टिमको कस्तो स्थिति छ प्रशिक्षकले त्यसैअनुसारको रणनिति बनाउन पर्छ” उनले भने “विपक्षी टिम र खेलाडीको अवस्था हेरी सहि रणनिति बनाएर खेल्न सके आफु अनुकल नतिजा निकाल्न सकिन्छ” । रणनितिविना जोशले मात्र खेल्दा कतिपय खेलमा गोलअन्तर र पकडको हिसाबले अगाडि हुदाँ पनि टिम हार्ने गरेको अनुभव उनको    छ ।  
आफुहरु आफ्नै अभ्यासले मात्र खेलिरहनु परेकाले पनि प्राविधिक रुपले कमजोर रहेको पांमा समुदायिक सेवा क्लवका खेलाडी मोहन गुरुङको बुझाई छ । दक्ष प्रशिक्षण पाए खेलको स्तर बढ्ने उनको दाबी छ ।  प्राविधिक कमजोरीकै कारण जिल्लामा फुटबलले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको खेलाडीहरुको गुनासो छ । प्रतियोगिताको संख्या र पुरस्कार राशिमात्र नबढाएर खेलाडी तथा प्रशिक्षकहरुको दक्षता अभिवृद्दिका निम्ति पनि बजेट खर्चन सकेमात्र फुटबलको विकास हुने खेलाडीहरुको भनाई छ । प्रशिक्षण अभाव तथा एन्फामा ढिलो आवद्ध भएकोले पनि खेल व्यावसायिक हुन नसकेको जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेले स्विकार्छन् । 
सङ्खुवासभा २०६८ सालमा मात्रै एन्फामा आवद्ध भएको हो । बजेट अभावमै संघले खेलाडीहरुलाई प्रशिक्षण दिन नसकेको अध्यक्ष घिमिरेको भनाई छ । एन्फाको तालिका अनुसारको प्रतियोगिता सञ्चालन गर्न समित बजेट आउँछ अरु कार्यक्रम गर्न सम्भव छैन उनले समस्या सुनाए । क्लव र फुटबल प्रतियोगिता आयोजना गर्ने सस्थाहरुले पनि यसतर्फ ध्यान दिनुपर्ने उनको धारणा छ । क्लव र आयोजकहरुबीच पुरस्कार राशि बढाउन मात्र होड चलेको उनको भनाई छ । एन्फामा आवद्ध भएपछि भने जिल्लामा फुटकलको स्तर वृद्धि भइरहेको उनले दावी गरे । “जिल्लामा विभिन्न प्रतियोगिता आधिकारीक रेफ्रिबाट गराउने प्रचलनले फुटबलमा सकारात्मक परिर्वतनको सुरुवात भएको छ” घिमिरेले भने । उनले थपे “झन पछिल्लो समयमा जिल्ला बाहिरका खेलाडी ल्याएर खेलाउने प्रचलनले पनि जिल्लाका खेलाडीलाई फाइदा भने भएको छ” । जिल्ला बाहिरका खेलाडीबाट पनि जिल्लाका खेलाडीहरुले खेल कौशलमा विकास गरिरहेको घिमिरेको भनाई छ । 
पछिल्लो समय जिल्लामा हुने फुटबल प्रतियोगिताको पहिलो नगर पुरस्कार कम्तिमा ५० हजार देखि ३ लाख बढीसम्म हुने गरेको छ । उपाधि जित्न क्लवहरुले जिल्ला बाहिरका खेलाडी ल्याउन पनि अघोषित होड नै चल्ने गरेको छ । हिउँदभर जिल्लामा सानाठुला १ दर्जन बढी फुटबल प्रतियोगिताहरु सञ्चालन हुने गरेका छन् । 

प्रतिकृया दिनुहोस