खुकुरी बनाएर मालामाल

भोजपुर । टेम्के मैयुङ गाउँपालिका ६, कोट सिक्तेलका ३१ वर्षीय सुनिल गजमेर वैदेशिक रोजगारीको शिलशिलामा २०६६ सालमा मलेसियाको क्वालालम्पुर पुगे। तीन वर्षपछि राम्रो कमाई नभएपछि घर फर्किए। मलेसियामा कमाएको पैसाले ऋणतिर्न मात्रै ठिक्क भयो। त्यपछि उनी पछि ठूलै सपना बोकेर कतार गए। त्यहाँपनि कम्पनीले राम्रो तलब नदिएपछि डेढवर्षमै घर फर्किए। 

वैदेशिक रोजगारीबाट केही सीप नलागेपछि आफ्नै पुख्र्यौली आरनको पेसा अँगालेर खुकुरी बनाउन सुुरु गरे। विदेशमा पसिना बगाउनुको सट्टा आफ्नै काम गर्ने विचारले २०७० सालदेखि बाबुसँगै खुकुरी कारखाना खोलेर व्यवसाय सुरु गरेका छन्। हाल उनले घरमै बसेर मनग्गे आम्दानी गरिरहेका छन्। उनले सदरमुकाम छेउमै पक्की घर पनि ठड्याएका छन्। 

मेहनत र परिश्रमले भिरपाखामै सुन फलाउन सकिन्छ भन्ने प्रत्यक्ष उदाहरण बनेका सुनिल परिवारको साथ सहयोगमा परि श्रम गरे जे पनि गर्न सकिने बताउँछन्। भन्छन्, ‘विदेशमा बिरामी भन्न पाईँदैनथ्यो, मालिकले तलब काटिदेला भन्ने डर, अर्काको टाइमटेबलमा काम गर्नुपर्ने बाध्यता हुन्छ। स्वदेशमै दुःख गरेर परिवारका साथ आनन्दले आनन्दले खान पुग्छ। ’

सुनिल हिजोआज मासिक ७० हजारसम्म आम्दानी गर्ने गरेको सुनाउँछन्। भोजपुरे खुकुरी स्वदेशमा मात्र होइन देश बाहिरसमेत निकासी हुने गरेको छ। उनले भने, ‘नेपालमा जागिर खाएर पनि खासै आम्दानी हुँदैन। मन लगाएर, लाज नमानी यो पेसा अंगाल्ने हो भने यहि पेसाले छिट्टै माथि पुर्‍याउँछ। ’

अर्का उद्यमी भोजपुर नगरपालिका १०, भैंसीपंखा खुरिल्लाका ३० वर्षीय घनश्याम विश्वकर्मा पनि वैदेशिक रोजगारको शिलशिलामा २०६७ सालमा कुवेत पुगे। तीन वर्ष बिताउँदा पनि आशलाग्दो बचत भएन। दैनिक १६ घण्टा ड्युटीमा खटेर मासिक ४५ हजार बचत गर्न सकेनन्। त्यसपछि उही पुख्र्यौली पेसालाई अँगाले। हाल उनी परिवारको खर्च धानेर मासिक २० देखी ३५ हजार कमाउँछन्। घरै बसेर गतिलो आम्दानी गर्ने बाटो भएको छ। 

प्रत्येक १० इञ्चका खुकुरी बराबर पाँच सय रुपैयाँ पारिश्रमिक लिने घनश्यामले दिनमा चारवटासम्म खुकुरी बनाउन भ्याउँछन्। उनले उक्त कारखानामा काम गरेको पाँच वर्ष बितिसक्यो। उनका तीन दाजुभाइ पनि उही आरनमा काम गर्छन्।  संसारभर वीर गोर्खालीको चिनारी दिएको खुकुरीले विदेशी मुद्रा आर्जन गर्नमा समेत मद्दत गरेको छ। प्रसिद्ध भोजपुरे खुकुरी बनाउने पेसाबाट सोचे अनुरुप कमाइको भएको उद्यमी सुनाउँछन्। 

भोजपुरे खुकुरी बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्पेनलगायत मुलुकसम्म निर्यात हुने गरेको छ।

भोजपुरमा ९६५ सालतिरै खुकुरी बन्न सुरु गरे पनि धेरैपछिबाट चर्चा सुरु भएछ। २०२७ सालमा राजा महेन्द्र राजकीय भ्रमणको क्रममा भोजपुर आउँदा बोखिमका सिंगबहादुर विश्वकर्मा ‘सिने’ खुकुरी उपहार दिएछन्। शिल्पकारको कौशलबाट आकर्षित राजा महेन्द्रले एक हजार बक्सिस दिएछन्। त्यही समयदेखि भोजपुरे खुकुरीले लोकप्रियता पाएको कथन छ। 

जिल्ला सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारका ३५ बढी स्थानमा भोजपुरे खुकुरी बनाइन्छ। अन्तर्राष्ट्रियस्तरमा ख्याति पाएको भोजपुरे खुकुरीको माग प्रशस्त भए पनि कच्चापदार्थ र दक्ष कालिगढको अभावमा मागअनुसारको उत्पादन धान्न नसकिएको २८ वर्षदेखि भोजपुर सदरमुकाममा उर्मिला आरन उद्योग सञ्चालन गर्दै आएका उद्यमी हीरा श्रेष्ठले बताए। 

खुकुरीको बजार फराकिलो बनाउन अन्तर्राष्ट्रियस्तरमै राज्यबाट व्यापारिक सम्झौता आवश्यक रहेको श्रेष्ठको ठम्याइ छ। छिमेकी जिल्ला चीन र भारतबाट माग हुने गरेपनि खुला व्यापारिक नीति नहुँदा निकासीमा कमी आएको उनी बताउँछन्। ‘चीन र भारतमा भाला, तरबार जस्ता हातहतियारलाई वैधता दिएको छ तर नेपाली खुकुरीलाई अवैध भन्दै रोक लगाएका कारण पनि यहाँ उत्पादित खुकुरी बाहिर निर्यात हुन नसकेको हो। यसका लागि राज्यले नयाँ नीति बनाउन आवश्यक छ। ’

करिब डेढ वर्ष अघिसम्म करोडौंको भोजपुरे खुकुरीको निकासी हुने सदरमुकाममा संघीय संरचना बनेपछि भने बजार सुस्ताएको व्यवसायी सुनाउँछन्। स्थानीय तहमा बजार विस्तार भएसँगै ग्रामीण भेगबाट खुकुरीका लागि आउने मानिसको संख्या केही मात्रामा घटेको उनीको भनाइ छ। सरकारले दिएको खुकुरी बनाउन चाहिने ग्लेन्डर, मोटर जस्ता मेसिनरी सामानमा ८० प्रतिशत सहुलियत अनुदानले पनि उद्यमीलाई सहज भएको उनीहरूको भनाइ छ। 

आकर्षक बुट्टा हालेर बनाइने भोजपुरे खुकुरीले देश–विदेशमा पनि उत्तिकै चर्चा बटुलेको छ। भोजपुरे खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्पेन लगायत पश्चिमा युरोपेली मुलुकमा मायाको चिनो, सजावटको लागि पुग्ने गर्छ। यस्तै छिमेकी मुलुक भारत, चिन, हङकङ, सिंगापुर, बहराइन, जापान, कोरियातिर पनि राम्रै निकासी हुने गरेको छ। कडा कानुनका कारण खाडी अरेबियन मुलुकमा हातहतियारका रूपमा लिइने नेपाली खुकुरी खुलारूपमा लान नमिल्ने व्यवस्था भए पनि सालका काठबाट निर्मित सजावट काठे खुकुरी चिनो स्वरुप लाने गरिएको छ। 

पञ्चायतदेखि बहुदलसम्म यहाँ उत्पादित खुकुरी धरान, विराटनगर, काठमाडौं लगायत सहर तथा भारत, चीन, बंगलादेश पाकिस्तान, ब्रुनाइ सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायतलगायत विदेशमा पनि लाखौंको मूल्यमा निर्यात हुँदै आएको थियो। खुकुरी बनाउने पेसाप्रतिको हिचकिचाहट बिना काम गर्ने हो भने विदेशको जानु नपर्ने अर्का उद्यमी ५१ वर्षीय अर्का व्यवसायी सुनिल गजमेरले सुनाउँछन्। उनी भन्छन्, ‘आरनमा गाह्रो र काम गर्न सक्नेका लागि यो पेसाले सन्तुष्टी दिन्छ। पैसा कमाउन विदेशै गइरहनु पर्दैन। ’ मासिक तीनदेखि चार सय ५० को हाराहारीमा खुकुरीको माग आउने गरेकाले भ्याइनभ्याइ हुन्छ। विशेषगरी दसैंतिहार जस्तो चाडबाडमा खुकुरीको माग बढी हुने गरेको उनको भनाइ छ। गत सालको दसैंमा उनले दुई लाख मूल्यका खुकुरी बेचेका थिए। 

प्रतिकृया दिनुहोस