८२ वर्षको उमेरमा नागरिकता

सङ्खुवासभा । सङ्खुवासभा भोटखोला गाउँपालिका की एक ८२ वर्षीय वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । भोटखोला गाउँपालिका वडा नं ४ की तुलिमाया तामाङले आफुले ८२ वर्षको उमेर नागरिकता प्राप्त गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आयोजना गरेको नागरिकता वितरण सम्बन्धि घुम्ति शिविरमा प्रमुख जिल्ला अधिकारी गणेश वहादुर अधिकारीले उनको गाउँमानै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे । “वृृद्धा अवस्थामा रहनुभएकालाई गाउँ घरमा नै गएर सार्वजनिक सेवा सुविधा दिन पाउँदा आफू निकै खुशी भएको छु”, प्रजिअ अधिकरीले भने । 
यो उमेरमा नागरिकता लिदा दङग परेकि तुलिमायाले भनिन् “मलाई आसा नै थिएन यो नागरिकता लिन्छु भनेर । यस अघि खासै नागरिकताको काम पनि परेन, चाहिएको पनि थिएन, तर भत्ता खाने उमेर भएर भत्ता खानलाई खोज्दा नागरिकता नभए पछि पाइन, अब त पाउछु होला” । उनले भनिन यो उमेरमा नागरिकता प्रदान गर्ने मेरा भगवान हुन् । 

७० वर्ष माथिका नौ जनालाई 

भोटखोला गाउँपालिकामा मात्रै ७० वर्ष माथिका नौ जना वृद्धावृद्धाहरुलाई नेपाली नागरिकता प्रदान गरिएको छ । एउटै गाउँपालिकामा यतिको संख्याका नागरिक नागरिकता विहिन छन् भने जिल्ला भरिको अवस्था कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ । भोटखोला क्षेत्रमा भोटखोला गाउँपालिकाको वडा नं १,२ र ३ लाई लक्षित गरि सञ्चालन गरिएको शिविरमा तिन बृद्धा र एक बृद्ध गरी ४ जना र भोटखोलाको वडा नं ४ र ५ लाई लक्षित गरी गोलाबजारमा राखिएको शिविरमा ५ जना बृद्धाहरुले नागरिकता लिएका छन् । 
शिविरमा भोटखोला गाउँपालिका वडा नं २ की दिचिक भोटेले ७३ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन भने सोहि ठाउँकी थिजुङ भोटेले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरीन् । यता भोटखोलाको वडा नं ४ र ५ लाई लक्षित गरि सञ्चालित शिविरमा भोटखोला ४ की तुलिमाया तामाङले ८२ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् ।

एकै गाउँपालिकामा २ सय ८५ जनालाई नागरिकता

जिल्लाको अतिदुर्गम मानिने भोटखोला गाउँपालिकामा मात्रै २ सय ८५ जनालाई नेपाली नागरिकता वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रदेशसभा सदस्यहरु पुर्ण प्रसाद राई, पदम कुमारी गुरु, र सरिता खड्का समेत जिल्लाका उच्च अधिकारीहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता वितरण सम्बन्धि घुम्ति शिविरमा भोटखोला गाउँपालिकाका मात्रै २ सय ८५ जनाले नागरिकता पाएका हुन् । भोटखोला गाउँपालिकाको वडा नं १, २ र ३ का नागरिकलाई लक्षित गरि हटियामा आयोजित शिविरमा  ६७ जनाले नागरिकता पाएका   छन् । जसमा ४२ जना महिला  र २५ जना पुरुषले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गणेशवहादुर अधिकारीले बताए । जसमध्ये २ जनालाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिएको छ ।
त्यस्तै भोटखोला गाउँपालिकाकै वडा नं ४ र ५ का नागरिकलाई लक्षित गरि आयोजित शिविरमा २ सय १६ जनाले नागरिकता प्राप्त गरेका छन् । ८२ वर्षीया वृद्धा सहित १ सय २० महिला र ९८ जना पुरुषले नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारीले गणेश वहादुर अधिकारीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस